काठमाडौं - नागरिक लगानी कोषले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी सामान्य बढेसँगै खुद नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ११.६२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.५० प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल खर्च ०.९३ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ५३.०७ प्रतिशत बढेको छ । नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २५ रुपैयाँ १५ पैसामा झरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया