९ महिनापछि सेबोनले दियो म्युचुअल फन्ड निष्कासनको अनुमति, १२ करोड इकाइ बिक्रीमा आउने

४ बर्ष अगाडि

काठमाडौं -  झन्डै ९ महिनापछि नेपाल धितोपत्र बोर्ड ९सेबोन० म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको छ । सेबोनले गत वैशाख २२ गते ‘कुमारी धनवृद्धि योजना’ नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो । 

यसअघि सेबोनले गत वर्ष साउन २९ गते नबिल ब्यालेन्स फन्ड–३ लाई निष्कासनको अनुमति दिएको थियो । त्यसयता निष्कासनको अनुमति पाउने ‘कुमारी धनवृद्धि योजना’ पहिलो म्युचुअल फन्ड हो । 

लामो समयदेखि सेबोनको अध्यक्ष पद रिक्त रहँदा म्युचुअल फन्डसँगै आईपीओ, हकप्रद र ऋणपत्र निष्कासनको अनुमति पाउन सकेका थिएनन् । गत माघ ९ गतेबाट भने सेबोनले आईपीओ निष्कासनलाई अनुमति दिन सुरु गरेको थियो । त्यसपछि सेबोनले हकप्रद र ऋणपत्रहरुलाई निष्कासनको अनुमति दिन सुरु गरेको थियो । तर म्युचुअल फन्डहरुले निष्कासनको अनुमति पाउन सकेका थिएनन् ।

सेबोनबाट निष्कासनको अनुमति पाएको ‘कुमारी धनवृद्धि योजना’ एउटा बन्दमुखी म्युचुअल फन्ड हो । यो फन्डको योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड र कोष प्रवर्द्धक कुमारी बैंक रहेका छन् । 

अब कुमारी क्यापिटलले यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुलाउनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया