एक वर्षमा शेयर बजार झन्डै ३०० अंकले घट्यो,बजार पुँजीकरण रु.३४ खर्ब २६ अर्ब

४ बर्ष अगाडि

काठमाडौ, गत आवको चैत मसान्तमा २७१४.८ रहेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) सूचकाङ्क चालु  आवको चैत मसान्तसम्ममा २९९.५ अंकले घटेर २४१५.३ को बिन्दुमा पुगेको छ । 

२०७८ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३४ खर्ब २६ अर्ब ११ करोड पुगेको छ । गत वर्षको चैत मसान्तमा बजार पुँजीकरण रु.३७ खर्ब ५८ अर्ब ९७ करोड रहेको थियो ।

समीक्षा अवधीसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २१८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.२ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेप्सेमा चैतसम्ममा सूचीकृत ६ अर्ब६८ करोड शेयरको चुक्ता मूल्य रु.६ खर्ब ५८ अर्ब३३ करोड रहेको छ ।

चालु आवको नौ महिनासम्ममा रु.५४ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, रु.४९ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.४७ अर्ब ९६ करोड बराबरको बोनस शेयर, रु.१८ अर्ब ९ करोड बराबरको साधारण शेयर, रु.९ अर्ब ३१ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.१८२ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब ७९ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब बराबरको म्युचुअल फण्ड गरी कुल रु.१५ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया