नेशनल लाइफ इन्स्योरेन्सद्धारा ९ महिनामा १० अर्ब १७ करोड बीमा शुल्क आर्जन, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १० अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

उक्त विमा शुल्क गत वर्षको तुलनामा १७ प्रतिशतले बढि हो । गत वर्षको यहि अवधिमा ८ अर्ब ६९ करोड रुपैयाँ थियो । मुनाफा भने २० प्रतिशतले घटेको छ । 

कम्पनीले चैत मसान्तसम्ममा २५ करोड ५६ लाख रुपैया मुनाफा गरेको छ । गत वर्षको यहि अवधिमा ३२ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस्तो मुनाफा भने एक्चुरि गरेपछि मात्रै वास्तविक रुपमा थाहा हुन्छ ।

एक वर्षको अवधिमा कम्पनीले जीवन बीमाकोष ९ अर्बले बढाउन सफल भएको छ । गत वर्ष ४० अर्ब २१ करोड रुपैयाँ जीवन बीमा कोष रहेको नेशनल लाइफको यस वर्ष भने ४९ अर्ब ४ करोड रुपैया नाघेको छ । 

जस मध्ये कम्पनीले दीर्घकालिन लगानी मात्रै ३१ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बीमितले बीमालेख धितोमा राखेर ७ अर्ब ५० करोड रुपैयाँ कर्जा लिएका छन् । अल्पकालिन लगानी भने १४ अर्ब भन्दा माथि छ ।

यस वर्ष अभिकर्ताले मात्रै एक अर्ब १० करोड रुपैयाँ कमिशन लगेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीको अभिकर्ता कमिशन बापत ९७ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो ।

चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुगेको कम्पनीको जगेडा कोषमा ५२ करोड ९२ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया