काठमाडौं- नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को स्तरोन्नति गर्ने भएको हो। मंगलबार नेप्सेले पुनः इच्छुक कम्पनीहरुबाट आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–ईओआई) आह्वान गरेको छ।
नेप्सेले नट्सको पर्फरमेन्स ट्युनिङ, अप्टिमाईजेसन, डाटा माइग्रेसन र डिप्लोइमेन्ट कार्य गर्नका लागि आशयपत्र माग गरेको हो। नेप्सेले जनशक्तिको योग्यता र अनुभवलाई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकका आधारमा प्राप्त आशयपत्रको मूल्यांकन गर्नेछ। यसरी मूल्यांकन गर्दा उत्कृष्ट ६ कम्पनीलाई सर्टलिस्ट गरी नेप्सेले उनीहरुसँग प्राविधिक र आर्थिक प्रस्ताव माग गर्नेछ।
त्यसपछि ती कम्पनीबाट प्राप्त प्राविधिक र आर्थिक प्रस्तावको मूल्यांकनका आधारमा उत्कृष्ट ठहरिने एउटा कम्पनीलाई नेप्सेले नट्सको स्तरोन्नतिको कामको जिम्मा दिनेछ। नेप्सेले जेठ ११ गतेसम्म आशयपत्र पठाउन आग्रह गरेको छ।
यसअघि गत वैशाख ९ गते पनि नेप्सेले नट्सको स्तरोन्नतिका लागि इच्छुक कम्पनीहरुबाट आशयपत्र माग गरेको थियो ।

प्रतिक्रिया