काठमाडौं- सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले २ करोड ८१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६४.६८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १२९.०७ प्रतिशतले बढेर ४ करोड ३४ लाख भएको छ। गत वर्ष यस्तो मुनाफा १ करोड ८९ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.२९ प्रतिशतले बढेर ८ करोड ८१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ७ करोड ९९ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी १३ करोड २० लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ७२ करोड ५२ लाख रुपैयाँ सापटी लिई १५ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ६९ करोड २८ लाख रुपैयाँ सापटी लिई १ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ४२.५२ प्रतिशतले बढेर ९ करोड ४७ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ६ करोड ६५ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी २८.४६ रुपैयाँ, पीई रेसियो ४३.२२ गुणा, प्रतिसेयर नेटवर्थ १७१.८१ र तरलता अनुपात ८.१८ प्रतिशत रहेको छ।
प्रतिक्रिया