काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ९ महिनासम्ममा ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा करिब स्थिर रहेको छ । कम्पनीले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
विद्युत बिक्री आम्दानी सामान्य बढेसँगै कम्पनीको नाफा सामान्य बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.७६ प्रतिशत बढेको छ ।
त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी २०.२४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.५६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८८.५३ प्रतिशत घटेको छ ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६४ पैसा घटेर १० रुपैयाँ ३१ पैसामा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ४.२७ प्रतिशत घटेको छ ।
प्रतिक्रिया