डिप्रोक्स लघुवित्त नाफा घट्दा सञ्चालन मुनाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा सञ्चालन मुनाफा बढेको भएपनि कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २.४२ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २३।४० प्रतिशत बढेको छ ।

 यद्यपि, समीक्षा अवधिमा ७ करोड ८ लाख १२ हजार रुपैयाँ मात्र खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा घटेर ४१ रुपैयाँ ९१ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया