खेर जाने बिजुलीको बजार खोज्दै विद्युत प्राधिकरण

३ बर्ष अगाडि

काठमाडौं - गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनः मनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । 

त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् । नेपालको कूल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ ।

यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६०० मेगावाट बराबर मात्रै छ  । हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति भएको छ । बाँकी रहने बिजुली के गर्ने भन्नेबारेमा कुनै निर्णय भएको थिएन । 

देशभित्रै क्रमशः अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । दोर्दी करिडोरको उक्त आयोजनाले परीक्षण उत्पादनका रुपमा ३० मेगावाट बिजुली प्रणालीमा जोडिसकेको छ । सोही करिडोरका अन्य आयोजना पनि केही समयभित्रै निर्माण सम्पन्न हुँदैछन् ।

सोलु करिडोरमा निर्माण भइरहेका आयोजनासमेत प्रणालीमा जोड्ने तयारीमा छन् । यसबाट देशभित्रै सबै बिजुली खपत हुने अवस्था छैन । ठूलो लगानी परेका आयोजनाको बिजुली खेर जानु राम्रो विषय पक्कै होइन । त्यसको उपाय खोज्ने काममा सरकार र निजी क्षेत्र दुवै लागेका छन् ।

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाइरहेको छ । सरकारबाट अनुमति नपाए पनि निजी क्षेत्रले पनि यसको तयारी गरिरहेको छ । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीका लागि अनुमति दिने अन्तिम तयारीमा छ ।

संसद्मा विचाराधीन विद्युत् विधेयक पारित हुन लामो समय लाग्ने भएकाले वैकल्पिक उपायको खोजी गरिएको छ । यही पृष्ठभूमिमा नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्ने ध्येयका साथ आज बोलपत्र आह्वान गरेको छ ।

प्राधिकरणले बोलपत्रको आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग प्रस्ताव माग गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया