भरतपुरमा ५ दलीय गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक,प्रतिबद्धता पत्रमा के छ ?

३ बर्ष अगाडि

वैशाख ३० हुन लागिरहेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाका पाँच दलीय गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज भरतपुरमा आयोजित कार्यक्रममै एसियाकै नमुना सहर र नगरवासीलाई सम्पुर्ण सुविधा उपलब्ध गराउने विशेष योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । 

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उमेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । यसपाली पाँच दल मिलेर गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनको भरतपुर महानगर समितिले प्रतिबद्धता पत्र तयार गरेको हो ।

प्रतिबद्धता पत्रमा नीतिगत सुधार एवं आगामी कार्यकालमा गरिने कार्यहरू बुँदागत रुपमा उल्लेख गरिएको छ । प्रत्याशीहरूले आगामी कार्यकालमा भरतपुरलाई सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एसियाली मापदण्डको भौतिक पूर्वाधार, नारायणी नदीमा २५० मेगावाट विद्युत् उत्पादन, सबैको लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटनस् स्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारी मुक्त भरतपुर, केही महिनाभित्रै इलेक्ट्रिक बस सञ्चालन, समृद्धिका लागि वन कार्यक्रम, सक्षम, स्वास्थ्य र सुरक्षित महिला एवं बालबालिका, भरतपुर देशकै खेलकुद केन्द्र, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम लगायत विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान र कृषि पेशमा संलग्न प्रत्येक किसानको पहिचान र वर्गीकरण गरी किसान पेन्सनको व्यवस्था गरिने उनीहरुको प्रतिबद्धतनामा जनाइएको छ ।

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि पहिलो वर्षमा प्रत्येक वडाका ५० जना युवालाई कृषि, पर्यटन, वन तथा उद्योग क्षेत्रमा रोजगारी सिर्जना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि प्रत्येक वडामा कम्तिमा सय जनालाई स्वरोजगार बनाइने दाबी गरिएको छ ।

खेलकुदतर्फ प्रत्येक वर्ष महानगर स्तरिय महिला खेलकुद महोत्सव आयोजना गरिने बताइएको छ । खेलकुद विकासको लागि खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने, आवास विहिनलाई बहुतले भवन बनाई एकिकृत बस्ती विकास गर्ने र प्रत्येक घरधुरीलाई विद्युतीय चुलोमा ८० प्रतिशत अनुदान दिने महत्वाकांक्षी योजना राखिएको छ ।

त्यस्तै, ६० वर्ष नाघेका दलितलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ज्येष्ठ नागरिक र परिवार विहिनहरुका लागि संरक्षण गृह निर्माण गर्नेलगायतका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया