काठमाडौं - मलेसियास्थित नेपाली दूतावासले कामदारको तलब न्यूनतम १ हजार ५ सय रिंगेट भएको भन्दै सोही अनुसार मागपत्र पेश गर्न रोजगारदातालाई आग्रह गरेकोे छ ।
मलेसियाले यहि मे महिनाको पहिलो तारेखदेखि न्यूनतम तलब मासिक १ हजार ५ सय रिंगेट कायम गरेकोे छ ।
मलेसिया सरकारले न्यूनतम तलब वृद्धि गरेसँगै मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न आउनेहरुलाई सोही बमोजिमको मागपत्र तथा रोजगारी सम्झौता पत्र अनुरुप ल्याउन भनेको छ ।
दूतावासले यस अगाडि नै प्रमाणीकरणका लागि पेश गरिएका तर प्रमाणीकरण नभइसकेको मागका लागि समेत न्यूनतम तलबमा १ हजार ५ सय रिंगेट कायम गरेर पेश गर्नुपर्ने बताएको छ ।
गत फेब्रुअरीदेखि मलेसियामा विदेशी कामदारको मागपत्र प्रमाणीकरण शुरू भएपछि पहिले कायम १२ सय रिंगेट न्यूनतम तलबका मागपत्र दूतावासमा पेश भएका छन् ।
नेपालमा पनि १२ सय रिंगेट न्यूनतम तलब तोकिएको केही मागपत्रमा पूर्व स्वीकृति भएको छ । मलेसियामा भएको परिवर्तन अनुसार पुराना मागपत्रमा एकरूपता कायम गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया