काठमाडौं - निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको भ्रातृ संस्था युथ चेम्बरले आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए । आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने सवालमा अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्र बैंकबीच प्रभावकारी समन्वय हुनुपर्नेमा खतिवडाले जोड दिए । “अर्थतन्त्रमा संरचनागत समस्या छ । कृषि सडक देखि जलविद्युत सवै क्षेत्रमा आयात गर्नुपरेको छ । व्यापार व्यवस्थापन प्रभावकारी हुन सकेको छैन” खतिवडाले भने ।
आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालिन र दिर्घकालिन नीति बनाएर अघि बढ्न खतिवडाले सुझाव दिए । मुलुकको अर्थतन्त्रमा जोखिमको अवस्था कायमै रहेको भन्दै उनले सरकार संयम हुनुपर्ने बेला आएको बताएका थिए ।
उपभोग्य बस्तुहरुको अभावसँगै मुल्यवृद्धि हुने हल्लाले बजारमा अनावश्यक त्रास सिर्जना हुने गरेको डा। खतिवडाको भनाई छ । मुलुकको अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगट्ने नीजि क्षेत्र पनि जिम्मेवार हुनुपर्ने खतिवडाको भनाई छ ।
घर जग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै खतिवडाले शिक्षामा अनावश्यक रुपमा विदेशिएको रकम, हुण्डी कारोबार तथा नेपालीको बैदेशिक भ्रमणलाई केही हद सम्म रोक्न सके विदेशी बिनिमय सञ्चितीमा सकारात्मक प्रभाव पार्ने बताए ।
अर्थतन्त्रमा पछिल्लो समय सकारात्मक संकेतहरु देखिन थालको भन्दै खतिवडाले व्यबहारिक रुपमै ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि हेर्न चाहेको बताएका थिए ।
प्रतिक्रिया