आजबाट निष्काशनमा आयो सेञ्चुरी बैंकको २ अर्ब २० करोडको २२ लाख कित्ता ऋणपत्र

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । 

बैंकले यस दिनदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।  

सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गतेसम्ममा आवेदन दिनुपर्नेछ । 

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया