काठमाडौं, सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया