काठमाडौ,साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ ।
कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ४८.७३ अंकले घटेर २३०७.४४ को बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ८(४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंक घटेको छ।
सोमबार २२८ स्टकको ३१ हजार ४०४ पटकको कारोबारमा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको ३९ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से ओरालो लागेपनि जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ११४ रुपैयाँ २० पैसा बढेर १ हजार २५६ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ प्रतिशत बढेको छ।
यता नेपाल फाइनान्सको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५१ रुपैयाँ घटेर ४५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन युनियन हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ७३ लाख ५६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स र नेपाल फाइनान्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, अन्य र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् भने लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्।
प्रतिक्रिया