स्थानीय तहको निर्वाचन : एक लाख ५३ हजार २२० को उम्मेदवारी, कूल मतदाता एक करोड ७७ लाख ३३ हजार बढि

४ बर्ष अगाडि

काठमाडौं - मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो पटक यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा ३५ हजार २२१ पदका लागि कूल एक लाख ५३ हजार २२० जनाले उम्मेदवारी दिएका छन् ।

विद्यमान कानुनी व्यवस्थानुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् । यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, गाउँपालिकामा अध्यक्षरउपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् । तीमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १०, महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ रहेको छ ।

त्यसैगरी यस निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ । निर्वाचनमा कूल उम्मेदवारमध्ये ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला छन् । 

निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये नेकपा (एमाले) का ३३ हजार ५०३, नेपाली कांग्रेसका ३१ हजार ४२५, नेकपा ९माओवादी केन्द्र० का २२ हजार २७९, नेकपा (एकीकृत समाजवादी) का ११ हजार ३३०, जनता समाजवादी पार्टी नेपालका नौ हजार ४८१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चार हजार ७६१ उम्मेदवार छन् ।

त्यसैगरी यस निर्वाचनमा १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । हाल निर्वाचन आयोगमा दर्ता भएका जम्मा ८९ राजनीतिक दलमध्ये निर्वाचनमा १३ दलका उम्मेदवार शून्य छन् । 

आयोगका तथ्याङ्कअनुसार वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपालवाद, लोकदल, नेपाल आमा, समावेशी लोकतान्त्रिक, सङ्घीय खुम्बुवान, नेपाल सुकुम्वासी (लोकतान्त्रिक), नेपाल नौलो जनवाद र माओवादी जनमुक्ति पार्टी नेपालका यस निर्वाचनमा शून्य उम्मेदवार छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया