हेर्दाहेर्दै राखिएको गभर्नरको मुद्दाको सुनुवाइ आज

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा बिहीबार हेर्दाहेर्दै राखिएको छ । 

न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासले समय अभावले गर्दा गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको हो । अब यो मुद्दाको सुनुवाइ (पेसी) आजलाई तोकिएको छ । 

गभर्नर अधिकारीको मुद्दाको मंगलबारदेखि सुनुवाइ सुरु भएको थियो । मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार गभर्नर अधिकारीका तर्फबाट वकिलले बहस गरेका थिए । विहिबार सरकारतर्फबाट बहस गरेका थिए । 

सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । सरकारले जाँचबुझ समिति बनाएसँगै अधिकारी गभर्नरबाट स्वतः निलम्बित भएका थिए । 

सरकारले आफूमाथि पूर्वाग्राही ढंगले कानुनविपरीत कारबाही गरेको भन्दै अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइए पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

अधिकारीको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उनीमाथि छानबिन गर्नका लागि छानबिन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेशसमेत इजलासले जारी गरेको थियो । 

फुयालको इजलासले अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न वैशाख १३ गते (मंगलबार) दुवै पक्षलाई बोलाएको थियो । तर, समय अभावका कारण यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । विहिबार पनि सुनुवाइका क्रममा समय अभावपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । 

अब आजको सुनुवाइपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयको छिनोफानो हुने देखिन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया