उपप्रमुखको एक पदका लागि चार महिलाले उम्मेदवारी

३ बर्ष अगाडि

काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् । 

उपप्रमुखमा मनोनयन दर्ता गराएकी अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले नेपाली कांग्रेस, शाहीले नेकपा (एमाले), लामिछानेले नेकपा (माओवादी केन्द्र) र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

नेपाली कांग्रेस
कांग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन् । वि.सं. २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुभएकी उनीकांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् ।

नेकपा एमाले
एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको  जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष हुन् ।  गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उहाँ सामाजिक कार्यमा क्रियाशील छिन् ।

माओवादी केन्द्र
माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन्  । वि.सं. २०६० देखि  राजनीतिमा सक्रिय उहाँ हाल विभिन्न सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएकी थिइन् । 

एकीकृत समाजवादी
एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज हुन् । वि.सं. २०४८ देखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिइन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया