वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा बढ्यो

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा व्यापकरूपमा बढेको बताएको छ । 

राजधानीमा सञ्चालित दर्जनौं शैक्षिक कन्सल्ट्यान्सीलाई प्रहरीले पटकपटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्ट्यान्सीबाट वैदेशिक रोजगारको नाममा ठग्ने धन्धा नरोकिएपछि विभागले शैक्षिक कन्सल्ट्यान्सीहरू माथि अनुगमनको माग गरेकोे हो ।

वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर लाखौं रुपैयाँ ठगी गरिएको उजुरी आएकोे विभागले बताएको छ । ठगीको उजुरी आउने तर शैक्षिक कन्सल्ट्यान्सीका मुख्य व्यक्ति फरार भई उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गरेको विभागले बताएको छ ।

वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर रकम उठाउने र त्यसपछि सम्पर्कविहीन भई ठग्ने गरिएको भन्दै विभागले शैक्षिक कन्सल्ट्यान्सीहरूको अनुगमनको जिम्मेवारी पाएका सरकारी निकायहरूबाट अनुगमन र कारबाही नहुँदा ठगी संस्थागत भएकोले तिव्रतासाथ अनुगमन र कारबाही गर्न पनि आग्रह गरेकोे छ । 

शैक्षिक कन्सल्ट्यान्सीहरू शिक्षा मन्त्रालय अन्तर्गत दर्ता हुने गरेका छन् । जनशक्तिको अभाव देखाउँदै अनुगमन नहुँदा उनीहरूले वैदेशिक रोजगारमा कामदार पठाएर अलपत्र पार्ने गरेको गुनासो व्यापकरूपमा बढेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया