काठमाडौं - बीमा समितिको निर्देशन अनुसार ३८ वटै बीमा कम्पनीहरुले समितिमा पूँजी वृद्धिको योजना पेश गरेका छन् । समितिले तोकेको भन्दा धेरै चुक्ता पूँजी भएको नेपाल लाइफ बाहेक सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पूँजी वृद्धिको योजना बुझाएका हुन् ।
समितिले तोकिएको समय भन्दा ढिलो गरी अर्थात बैशाख १३ गतेसम्ममा बाँकी १४ वटा बीमा कम्पनीहरुले पनि पूँजी वृद्धिको योजना पेश गरेका हुन् । ढिलो गरी पूँजी वृद्धिको योजना पेश गर्नेमा जीवन बीमा कम्पनीहरुमा राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफ इन्स्योरेन्स रहेका छन् ।
यस्तै निर्जीवन बीमा कम्पनीहरुमा ओरियन्टल इन्स्योरेन्स,नेशनल इन्स्योरेन्स,हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले ढिलो पूँजी बृद्धिको योजना पेश गरेको बीमा समितिले जनाएको छ ।
समितिले तोकिएको अवधिमा २४ वटा बीमा कम्पनीहरुले मात्रै पूँजी वृद्धिको योजना पेश गरेका थिए । समितिले निर्देशन दिएको एक महिना भित्र १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटै निर्जीवन बीमाले पूँजी वृद्धिको योजना बुझाएका थिए ।
समितिले गत चैत १० गते एक महिना भित्र बीमा कम्पनीहरुलाई पूँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । त्यस अनुसार बीमा कम्पनीहरुले कम्पनीहरु सञ्चालक समितिबाट निर्णय गराई पूँजी वृद्धिको योजना पेश गरेका हुन् ।
प्रतिक्रिया