वैशाख २१ गतेदेखि २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्काशन गर्दै सेञ्चुरी कमर्शियल बैंक, ब्याजदर कति ?

४ बर्ष अगाडि

काठमाडौं-सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको छ । वार्षिक साढे १० प्रतिशत ब्याजदरमा बैक ऋणपत्र निष्काशन गर्ने लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया