फ्रेन्च लिग वान : अन्तिम ४ खेल बाँकी छँदै पिएसजीलाई उपाधि

३ बर्ष अगाडि

एजेन्सी - फ्रेन्च लिग वानको उपाधि पिएसजीले जितेको छ । गत सिजन दोस्रो मात्रै बनेको पिएसजीले यसपटक लिगको उपाधि हासिल गरेको हो । 

गत राति भएको ३४औं साताको खेलमा पिएसजीले आफ्नो घरेलु मैदानमा लेन्ससँग १–१ को बराबरी खेल्दै उपाधि जितेको हो । लिगका अन्तिम ४ खेल बाँकी छँदै पिएसजी च्याम्पियन बन्यो ।

घरेलु मैदान पार्क डे प्रिन्सेस रंगशालामा पिएसजीलाई उपाधि जिताउने खेलमा टोलीका प्रमुख खेलाडी लिओनल मेस्सीले १ गोल गरेका थिए । 

सातौं स्थानको पाहुना टोली लेन्सको उत्कृष्ट रक्षात्मक खेल सामु पिएसजीलाई १ गोल गर्न पनि विपक्षी टिम १० खेलाडीमा डाउन हुँदासम्म पर्खिनु परेको थियो । लेन्स ५७औं मिनेटमा १० खेलाडीमा डाउन भएपछि पिएसजीले त्यसपछि गोल गरेको थियो ।

खेलको ६८औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गरेर पिएसजीलाई खेलमा अग्रता दिलाएका थिए । उनको गोलमा नेइमारले असिस्ट प्रदान गरेका थिए । १ गोलको अग्रता लिएर जित नजिक पुगेको पिएसजीले खेलको अन्तिम समयमा गोल खायो । उत्कृष्ट मुभमा लेन्सका लागि कोरेन्टिन जिनले गोल गरेपछि पिएसजी जितविहीन बन्दै १–१ मा रोकिन बाध्य भयो ।

घरेलु मैदानमा कमजोर टिमसँग भएको खेलमा पिएसजीले स्प्ष्ट जित निकाल्न नसके पनि १ अंक जोड्दै बेलैमा लिग जित्न सफल भएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया