न्यूरोडको एयरटेल सहकारी ठगीका नाइके गोयल र जैन पुर्पक्षका लागि थुनामा, अरु फरार अभियुक्तलाई पक्राउ गर्न वारेन्ट जारी

७ बर्ष अगाडि

काठमाडौं – न्यूरोडस्थित एयरटेल सहकारी संस्थामा भएको आर्थिक बदमासीका सन्दर्भमा परेको मुद्दामा सोमबार जिल्ला अदालत, काठमाडौंले रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका सहकारी संस्थाका प्रवन्ध निर्देशक अशोक गोयल र अर्का नाइके हेमराज जैनलाई पूर्पक्षका लागि थुनामा पठाएको छ ।

पाँच दर्जन बढी पिडीतले दिएको जाहेरीका आधारमा प्रहरीले दुई महिनादेखि थुनामा राखी अनुसन्धान गर्दा सहकारीका सञ्चालक तथा कर्मचारीले मिलोमतोमा १८ करोड बढी रकम हिनामिना गरेको अभियोगसहित जिल्ला सरकारी वकिलको कार्यालय मार्फत् अघि बढाइएको मुद्दामाथि जिल्ला अदालतमा सोमबार भएको प्रारम्भीक थुनछेक बहसका क्रममा न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलालसले गोयल र जैनलाई पूर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको हो ।

गोयलले आफ्नै पत्नी सुमन केडीया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुसी लगानी गर्दै आएका थिए ।

यहीक्रममा प्रख्यात ब्राण्डको नक्कली उत्पादन गरी बेचबिखन गरेको अभियोगमा पक्राउ परेका हेमराज जैन पनि सहकारी मुद्दामा जोडीएका हुन् । जैनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आर्थिक प्रभावमा परेर मामुली धरौटीमा छाडेको भएता पनि उनकी श्रीमती सारीका जैन एयरटेल सहकारीको सञ्चालक रहेको र पक्राउ पूर्जी जारी भएपछि फरार रहेको अवस्थामा उक्त सहकारीमा भएको आर्थिक अनियमिततामा जोडीएका जैनलाई समेत संगठित अपराधमा जोडेर प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालतका न्यायमूर्ति भट्टराईले निजका हकमा पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

सयौं सर्वसाधारणको करोडौं रकम अनियमितता गरेको अभियोग लागेका गोयल र जैनले प्रयोगमा ल्याएका कानूनकर्मी भने अत्यन्तै प्रभावशाली देखिन्थे । सर्वसाधारणबाट लुटेको ठूलो धनराशीको अफर गर्दै जसरी पनि आफूहरुलाई कानूनी प्रक्रियाबाट उन्मुक्ति दिलाइदिन भन्दै ती कानूनकर्मी प्रयोग गरेको बताइएको छ भने उक्त समुहले अख्तियारका एक प्रहरी अधिकारीको समेत मुद्दामा प्रभाव पार्न प्रयोग गरेका थिए । आफूलाई काँग्रेस निकट भन्न रुचाउने पशुपती विकाश क्षेत्रका पूर्व सदस्य सचिव समेत रहेका सुशील नाहाटा त नाङ्गोहने गरी यस प्रकरणमा ठग समुहलाई जोगाउन लागि परेको बताइन्छ ।

सोमबार भएको थुनछेक आदेशमा अन्य फरार अभियुक्तलाई पक्राउ गर्न वारेन्ट समेत जारी गरिएको छ । फरार हुनेहरुमा सहकारीकै अध्यक्ष सुमन केडिया तथा पदाधिकारीहरु सीमा बंशल, सारीका जैन, सुरेन्द्र अग्रवाल, पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मा रहेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया