काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ ।
मागभन्दा बढी आवेदन परेकै कारण लघुवित्तको आईपीओ गोलाप्राथबाट बाँडफाँड गरिएको हो । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनैमध्ये २० कित्ता माथि आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।
यो आईपीओमा २३ लाख ४६ हजार ६५० जनाको हात खाली भएको छ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा उपकार लघुवित्तको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो ।
लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । कुल कित्तामध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।
क्यापिटलका अनुसार यो आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदकबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ता सेयर माग भएको थियो । तीमध्ये २३ लाख ४९ हजार ५६ आवेदकबाट माग भएको २ करोड ६२ लाख ३० हजार ९३० कित्तामात्रै सदर भएको छ । बाँकी २ हजार ४०६ आवेदकबाट माग भएको २६ हजार ७२० कित्ता बदर भएको छ ।
प्रतिक्रिया