सेञ्चुरी बैंकद्धारा आज थप ३ नयाँ शाखा सञ्चालनमा

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा प्रारम्भ गरेका हुन् । बैंकले एकैदिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिकास्थित लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । 

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्ति, उद्यमी व्यवसायी, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख सञ्चालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयको उपस्थिति थियो ।   

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलोपटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको छ ।    

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

थप ३ शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया