आइएमई पे क्यान इन्फोटेक २०२२ सुरु

३ बर्ष अगाडि

काठमाडौं - आइएमई पे क्यान इन्फोटेक २०२२ सुरु भएको छ । बुधबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त मेला ६ दिनसम्म सञ्चालन हुने भएको छ । उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ ।

मेलाको उद्घाटन प्रमुख अतिथि सुचना तथा संञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की गरेका थिए । यस्तै अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा शुनिलबाबु श्रेष्ठ, क्यानका पुर्व अध्यक्ष सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त मेलामा १२७ वटा स्टलहरु रहेका छन् । 

ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहेको छ । 

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धी उत्पादनहरू रहेका छन् । स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । 

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राखेका छन् । 

त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा छन् । 

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सोभन्दा बढी संख्यामा अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।  यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने छ, जसमा प्रवेश शुल्क जम्मा रू १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया