काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४।१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
१० प्रतिशत बोनस वितरण गरेपछि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसामा झरेको छ ।
प्रतिक्रिया