९ महिनासम्म आइपुग्दा वित्तिय अवस्थामा सिभिल लघुवित्त र आरएसडिसी लघुवित्तमा को अब्बल  ?

४ बर्ष अगाडि

काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

सिभिल लघुवित्त
चालु आर्थिक वर्षको ९ महिना सम्म आइपुग्दा सिभिल लघुवित्तिको नाफा ५ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६२ प्रतिशतले बढेको हो । तग वर्ष यसै अवधिमा ४ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्था बढ्दा खुद नाफामा केही दबाब पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.९१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२.०७ प्रतिशत र सञ्चालन मुनाफा १५.३८ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ९९ लाख रुपैयाँ छुट्याएको छ ।

खुद नाफा बढेपनि समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ २ पैसा घटेर २४ रुपैयाँ ४४ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो ।  

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २३.१६ प्रतिशत बढेको छ भने जगेडा कोष ९.२४ प्रतिशत बढेको छ । लघुवित्तको सापटी १०१.३४ प्रतिशत, निक्षेप ६२.०८ प्रतिशत र कर्जा ८०.४५ प्रतिशत बढेको छ ।

आरएसडिसी लघुवित्त 
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ५६ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २४.६५ प्रतिशत बढेर ९ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३३.६४ प्रतिशत र सञ्चालन मुनाफा २४.३४ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २१.९६ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २५.४५ प्रतिशत र कर्जा ४५.२२ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.२ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया