काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा लघुवित्तको नाफा १२ करोड १४ हजार रुपैयाँ पुगेको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १२.४१ प्रतिशत बढेरको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्था उल्लेख्य बढ्दा खुद नाफामा केही दबाब पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २५.०२ प्रतिशत र सञ्चालन मुनाफा १३.०७ प्रतिशत बढेको छ।
सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ७ लाख रुपैयाँ छुट्याएको छ। खुद नाफा बढेपनि समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३७ पैसा घटेर ४७ रुपैयाँ ९२ पैसामा झरेको छ ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हा । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ४२.२३ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३२.९१ प्रतिशत, निक्षेप ३७.९३ प्रतिशत र कर्जा ३७.७७ प्रतिशत बढेको छ ।
प्रतिक्रिया