काठमाडौं - सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि पुर्नवहाली भएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्ससँग छलफल गरेका छन् । गभर्नर अधिकारी ११ दिनपछि केन्द्रीय बैंक पुगेपछि अर्थतन्त्रको पछिल्लो अवस्थाको बारेमा बुझ्नका लागि छलफल गरेका हुन् ।
गभर्नर अधिकारीले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र फाइनान्स कम्पनी एसोसिएसनका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर सहित विभागीय प्रमुखहरुको सहभागिता थियो ।
गभर्नर अधिकारीले पछिल्लो समयमा आयात नियन्त्रण गर्नका लागि चालिएका कदमहरुको प्रभावका विषयमा छलफल गरिएको बताए । उनले वस्तु आयातमा गरिएको रोक, प्रतीतपत्र खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था तथा प्रतीतपत्र नै नखोल्ने लगायतका विषयमा छलफल केन्द्रीत रहेको बताए ।
नेपाल सरकारले गभर्नरको कार्यक्षमतामा प्रश्न गर्दै छानविन समिति गठन गरेपछि निलम्बनमा परेका थिए । करिब ११ दिन निलम्बनमा रहेका गभर्नर अधिकारी सर्वोच्च अदालतको आन्तरिक आदेशपछि बुधबार पुन नियमित कार्यालय पुगेका हुन ।
कार्यालय सुचारु गरेसंगै उनले अर्थतन्त्रको पछिल्लो अवस्था र आर्थिक क्रियाकलापको जानकारी लिनका लागि बैंकहरुसंग छलफल गरेका हुन ।
प्रतिक्रिया