काठमाडौं - हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.०१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.०६ प्रतिशत बढेको छ ।
चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ७५ पैसा घटेर १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ ।
प्रतिक्रिया