काठमाडौं - प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्मा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेको छ। गत वर्षको तुलनामा यस वर्ष इम्पेरमेन्ट चार्ज कम रिभर्स भएका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ ।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ८.९४ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १.३१ प्रतिशत बढेको छ भने कर्जा ६.३६ प्रतिशत बढेको छ ।
प्रतिक्रिया