सिभिल बैंकले ९ महिनामा कमायो  ९० करोड ४१ लाख नाफा, निक्षेप संकलन कति ?

४ बर्ष अगाडि

काठमाडौं - सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ९० करोड ४१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।  

उक्ता नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.९० प्रतिशतले बढि हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ५० करोड २५ लाख रुपैयाँमा सीमित थियो । 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि उच्च दरले बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ६८ करोड १० लाख रुपैयाँ रहेको संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ३० करोडको उचाईमा पुगेको हो । 

बैंक व्यवस्थापनले व्यवसाय बढोत्तरीमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म सिभिल बैंकको खूद ब्याज आम्दानी १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा बढेर २ अर्ब ४५ करोडको उचाईमा पुगेको छ । यसरी बैंकले खूद ब्याज आम्दानी ५९.३९ प्रतिशतले बढाएको छ । 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफ ४२ करोड ६८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ९० अर्ब ७० करोड बढी निक्षेप संकलन गरी ८३ अर्ब ९३ करोड बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा बैंकले ८८ अर्ब ६३ करोड बढी निक्षेप संकलन गरी ७९ अर्ब ३ करोड बढी कर्जा परिचालन गरेको थियो । खूद नाफा ह्वात्तै बढेका कारण बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष समान अवधिमा ५।८१ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष १३।२८ रुपैयाँको उचाईमा पुगेको हो । 

बैंकले अघिल्लो वर्ष १.१३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर यो वर्ष ०.९९ प्रतिशतमा सीमित बनाउने सफलता पाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया