सेञ्चुरी बैंकले ९ महिनामा कमायो १ अर्ब १ करोड ५६ लाख नाफा, ईपीएस कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिना सम्ममा १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो । 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२।७६ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको २७ करोड ८३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ । 

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी ५.७५ प्रतिशत बढेको छ भने जगेडा कोष २३.०१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.१८ प्रतिशत घटेको छ भने कर्जा ११.६६ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया