आजबाट साउदीको मागपत्र प्रमाणीकरण शुरू हुने

३ बर्ष अगाडि

काठमाडौं - साउदी अरबको रियादस्थित नेपाली दूतावासले आजदेखि  मागपत्र प्रमाणीकरण गर्न शुरूवात गर्ने भएको छ । 

मुस्लिम समुदायको महानपर्व रमदानलाई कारण देखाउँदै साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले आगामी मे ६ तारेखसम्म प्रमाणीकरणका लागि रोजगारदाताबाट कुनै आवेदन दर्ता नगर्ने निर्णय सार्वजनिक गरेकोे थियोे । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तदर्थ समितिका सदस्य रहेका संघका पूर्व अध्यक्ष प्रेम बहादुर कटुवाल र रियादस्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख दिलिप कुमार पौडेलबीच मागपत्र प्रमाणीकरण रोकिँदा उत्पन्न समस्याको बारेमा सोमबार छलफल भएपछि दूतावासले बुधबारदेखि मागपत्र प्रमाणीकरण शुरूवात गर्ने प्रतिवद्धता जनाएको हो ।

साउदी अरबको रियादस्थित नेपाली दूतावास र जेद्धास्थित कन्सुलर कार्यालयले नेपाली कामदारका लागि रोजगारदाताले पेश गरेका मागपत्र प्रमाणीकरण गर्ने गरेका छन् । 

कोरोना भाइरसको संक्रमण कम भएको र खोप लगाउनेहरू बढेपछि साउदी अरबले विदेशी कामदारका लागि ढोका खोलेको छ । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत माघ महिनामा १४ हजार २ सय ३७ जना र फागुन महिनामा ९ हजार १ सय ६० जना साउदी अरेबिया गएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया