काठमाडौं - नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको सीएनआईले जनाएको छ ।
भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने कुरा आफूले बारम्बार भन्दै आएको जानकारी दिए । उनले आगामी आव ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि दिए ।
भेटमा सीएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य विषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रको सुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए । उनले कार्यपत्रमा प्रस्तुत गरेअनुसार नेपालको कूल गार्हस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल गार्हस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको छ ।
कार्यपत्रअनुसार नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको छ । जीडीपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत तथा कूल बैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलरमात्रै रहेको कार्यपत्रमा उल्लेख थियो ।
अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको थियो ।
प्रतिक्रिया