दरबारमार्ग महोत्सव सम्पन्न, आन्तरिक पर्यटनलाई ऊर्जा दिन सफल भएको विश्वास

३ बर्ष अगाडि

काठमाडौं - नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको १५ औँ दरबारमार्ग महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । 

लामो समयदेखि यस्ता कार्यक्रमहरु आयोजना नभएको अवस्थामा दरवारमार्ग महोत्सवले नेपाल अब बिस्तारै उठ्दैछ भन्ने संदेश दिन सफल भएको विश्वास आयोजकले गरेका छन् ।

कोभिड–१९ महामारी र यसको प्रभावका कारण लामो समय घरमै बस्न बाध्य भएका आमसर्वसाधारणलाई महोत्सवले घर बाहिर आउन ठूलो ऊर्जा दिएको छ । महोत्सवमा कलाकारहरुले प्रस्तुति दिन थालेपछि महौल निकै मनोरञ्जनात्मक भएको थियो । 

महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक विशेष कार्यक्रमका बीच औपचारिक शुुभारम्भ गरेका थिए । देशका ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउन सहयोग गर्ने विश्वास लिएको अध्यक्ष गोल्छाले बताए । 

सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ मूल नाराका साथ आयोजना गरिएको यस महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्नुरहेको थियो । 

महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान० र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा यो महोत्सव आयोजना गरेको थियो । 

महामारीले अर्थतन्त्रलाई शिथिल पारेको बेलामा यस सहकार्यले पर्यटन क्षेत्र, लघु उद्यमी, घरेलु, साना तथा मझौला व्यायसायीलाई नयाँ उत्साहका साथ अघि बढ्न प्रोत्साहन दिएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले बताए । 

महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले सानाठूला सबै उद्यमव्यवसायलाई यस्ता कार्यक्रमले ऊर्जा प्रदान गर्ने बताइन् । धन्यवाद मन्तव्यका क्रममा रेबानका अध्यक्ष अरनिको राजभण्डारीले आन्तरिक र बाह्य पर्यटन पुनरुत्थानमा सहयोग गर्न सकियोस भनेर महोत्सव आयोजना गरिएको बताए । 

गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिसहित महोत्सव बेलुका ८ः१५ बजेसम्म चलेको थियो भने महोत्सवको करिब १ लाख दर्शकले अवलोकन गरेका थिए । 

चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति, नेपाली खाना र उत्पादनहरुको विषेश प्रदर्शनीले महोत्सवलाई आकर्षक बनाएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया