नयाँ सालको पहिलो दिन नेप्सेले सुरु गर्‍यो ओरालो यात्रा, यी कम्पनीहरुले गरे सर्वाधिक

४ बर्ष अगाडि

काठमाडौं - नयाँ वर्ष २०७९ सालको पहिलो दिन आइतबार नेप्सेले ओरालोे यात्रा सुरु गरेकोे छ । आज कारोबार अवधिभरमा नेप्से १.२३ प्रतिशत अर्थात २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ५.१२ अंकले घटेर ४२०.९७ विन्दुमा झरेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २३३ वटा कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता सेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रूपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूह घटेको नेप्सेले जनाएको छ । आइतबार फाइनान्स सबैभन्दा धेरै ३.३२ प्रतिशत घटेको छ । होटल र जलविद्युत २ प्रतिशत माथि तथा विकास बैंक, निर्जीवन बीमा, उत्पादन, अन्य, जीवन बीमा र लगानी सूचकमा १ प्रतिशत अधिक गिरावट देखिएको छ ।

नेपाल टेलिकमको सर्वाधिक ४ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अरुण भ्याली, ग्लोबल आइएमई डिबेञ्चर ८६/८७ र हिमालयन डिष्टिलरीको ४ करोड माथि तथा नबिल बैंक, शिवम् सिमेन्टस्, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र नेपाल लाइफको ३ करोड माथिको सेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक र नेपाल बैंक शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएका छन् ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा आइतबार पनि सकारात्मक सर्किट लागेको छ । आजसम्म कम्पनीको सेयरको भाउ लगातार १३ दिन बढेको छ । आइतबारको १० प्रतिशत वृद्धिपछि प्रतिकित्ता सेयरको भाउ २२६.२० रुपैयाँ बढेर २ हजार ४८८ रुपैयाँ ९० पैसा पुगेको छ ।

यस्तै हालै मात्रै दोस्रो बजारमा कारोबार सुरु भएको जाल्पा लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशत बढेर ५४२.१० रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ३ प्रतिशत धेरैले बढेको छ ।

उता आइतबार हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेर घटेपछि ३६४.५० रुपैयाँमा झरेको छ । प्रतिसेयर ४०५ रुपैयाँमा कारोबार खुला भएको कम्पनीको सेयरको भाउ १० प्रतिशत खर्थात ४०.५० रुपैयाँले घटेको हो ।

आज इमर्जिङ्ग नेपाल लिमिटेड, ७.५८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको प्रतिकित्ता सेयर भाउ ६.०७ प्रतिशतले घटेको छ । सामलिङ्ग पावर, नयाँ साथी लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र युनियन लाइफको सेयरमूल्य ५ प्रतिशतले घटेको छ ।

बैंकिङ्ग प्रणालीमा तरलता अभावका साथै अर्थतन्त्र नकारात्मक रहेको टिकाटिप्पणी हुन थालेसँगै त्यसको असर पर्दा सेयर बजारमा नकारात्मक असर परेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया