विश्वप्रकाश भन्छन् : भरतपुरको नेतृत्व यसपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्छ, कांग्रेस बढी जिम्मेवार बन्नुपर्ने पक्षमा देउवा

३ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको नेतृत्व यसपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्ने बताएका छन् । 

महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउन बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले अघिल्लो पटक माओवादीलाई नेतृत्व छाडेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

'२०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो । माओवादी चाहन्छ यो पटक पनि कांग्रेसले सघाउनु पर्छ,' बैठकमा महामन्त्री शर्माले भने, 'हामी चाहन्छौँ यो पटक माओवादीले कांग्रेसलाई छोड्नुपर्छ । त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ (भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ ।'

नयाँ विकल्पमा माओवादी जान नमाने तेस्रो विकल्प कांग्रेसले रोज्नुपर्ने उनको भनाई रह्यो । बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकोले कांग्रेस बढी जिम्मेवार बन्नुपर्ने धारणा राखे । प्रधानमन्त्री देउवाले गठबन्धनकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको दोहोर्‍याउँदै तालमेल हुनुपर्ने बताए ।

'कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्व संयन्त्र बनेको छ,' बैठकमा देउवाले भने ।

३ बर्ष अगाडि

प्रतिक्रिया