आजबाट संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइन माध्यमबाट मात्रै

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले बैशाख २ गते शुक्रबार (आज) देखि पूर्णरूपमा अनलाइन माध्यमबाट मात्रै संस्थागत श्रम स्वीकृति जारी गर्न थालेको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागिएको जानकारी दिए ।

विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ ।

अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ ।

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

 पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया