काठमाडौं - गत वर्ष २०७८ सेयर बजारका लगानीकर्ताका लागि फलदायी बन्न सकेन । सेयर बजारले केही कुरामा रेकर्ड बनाएपनि समग्रमा बजारबाट लगानीकर्ताले नाफा आर्जन गर्न सकेनन् ।
२०७८ मा नै सेयर बजारमा हुने कारोबार रकम बढेर दोब्बर पुग्दा बजार सूचक नेप्सेले ३ हजार २०० बिन्दुको सर्वाधिक उचाइ चुम्यो । त्यस्तै सर्वाधिक उचाईमा पुगेको नेप्से वर्षको अन्त्यसम्म आइपुग्दा नेप्से वर्षको सुरुवताको तुलनामा २९९.५४ अंक अर्थात ११.०३ प्रतिशत घटेको हो ।
नेप्सेमा आएको गिरावटसँगै गत वर्षमा लगानीकर्ताको सेयर बजारमा रहेको सम्पत्ति ३ खर्ब ३२ करोड ८६ लाख रुपैयाँले घटेको छ । २०७७ बैशाख १ गते बजार खुल्दा ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा २०७८ चैत ३० गते सो रकम घटेर ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रुपैयाँमा झरेको हो ।
गत वर्ष नेप्से ३०० अंकले घटेको छ । यस अवधिमा नेप्से २७१४.७९ बाट सुरु भई २९९.५४ अंक घटेर चैत अन्त्यमा २४१५।.२५ अंकमा झरेको छ । २०७८ भदौ २ गते बुधबार नेप्से ३१९८.६० विन्दुमा पुगेर सर्वाधिक उचाई कायम गर्न सफल भयो ।
यो नै नेप्सेको हालसम्मको अलटाइम हाइ रेकर्ड हो । यस अघि २०७३ साउन १२ गते १८८१.४५ बिन्दुको रेकर्ड कायम रहेको थियो । सो रकेर्डलाई तोडेर गत वर्ष नेप्सेमा नयाँ रेकर्ड बनाएको हो । यद्यपी त्यसको भोलिपल्ट भदौ ३ गते इन्ट्रा डे कारोबारमा नेप्से ३२२७.११ विन्दुमा पुगेपनि १८.२४ अंकले घटेर ३१८०.७८ बिन्दुमा झरेर बन्द भएपनि नेप्सेले ओरालो यात्रा तय गरेको थियो ।
नेप्से घटेर लगानीकर्ताले सम्पत्ति गुमाएपनि बजारमा हुने कारोबार रकम भने शतप्रतिशतभन्दा बढीको वृद्धि भएको छ । गत वर्ष कुल १७ खर्ब १२ अर्ब ६ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । वर्ष २०७७ मा ८ खर्ब ५४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँको सेयर करोबार भएको थियो । समीक्षा अवधिमा कारोबार रकम १००.३८ प्रतिशत अर्थात ८ खर्ब ५७ अर्ब ३४ करोड ८७ लाख रुपैयाँले कारोबार रकम बढेको हो ।
वर्ष २०७८ मा ३ अर्ब ६३ करोड ३२ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्लो वर्ष २०७७ मा २ अर्ब ८५ लाख १० हजार कित्ता सेयर कारोबार भएकोमा गत वर्षमा १ अर्ब ६२ करोड ८७ लाख ३६ हजार अर्थात ८१.०८ प्रतिशतले कारोबार कित्ता बढेको हो ।
यस्तै गत वर्ष कारोबार संख्या पनि १ करोडले बढेको छ । अघिल्लो वर्ष ९१ लख २८ हजार २५३ वटा संख्यामा सेयर करोबार भएकोमा वर्ष २०७८ मा यो संख्या १ करोडले बढेर १ करोड ९१ लख ८६ हजार ३४ पुगेको हो । वर्ष २०७८ मा दैनिक औषत २२५ वटा कम्पनीको सेयर कारोबारमा आयो ।
प्रतिक्रिया