काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गतेदेखि निष्काशन तथा विक्री खुला गरेको आइपीओमा आजसम्म मात्र आवेदन सकिने छ ।
आईपीओमा आवेदन दिने समय हिजो अन्तिम दिन भए पनि चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा भएकाले समय एक दिनका लागि थप भएको हो ।
कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कुल शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणमा वितरण गर्ने कम्पनीले जनाएको छ ।
आईपीओ मंगलबार साँझसम्म झन्डै ११५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ । सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्म यो आईपीओमा २२ लाख ३८ हजार ७५७ आवेदकबाट २ करोड ५४ लाख ९ हजार ४४० कित्ता सेयर माग भएको छ । यो मागभन्दा ११४.८९ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् ।
आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया