विश्वको सबैभन्दा बलियो राहदानी जापानको हुँदा नेपाली सातौं कमजोर, भारतको कति ?

३ बर्ष अगाडि

काठमाडौं - विश्वको सबैभन्दा बलियो राहदानी जापानको भएको छ । यस अघि पनि जापानी राहदानी विश्वको सबैभन्दा बलियो राहदानी बनेको थियो । 

जापानी राहदानीलाई १९२ देशमा भिसा  बिनै पनि प्रवेशको अनुमति छ । शीर्ष स्थानमा जापानसँगै सिंगापुर पनि रहेको छ । सूचीको दोस्रो स्थानमा दक्षिण कोरिया र जर्मनी छन् । यी दुबै देशको राहदानीलाई १९० देशमा अन–अराइभल भिसा दिइन्छन् । अर्थात् यात्रा गर्नु अगाडि भिसा लगाइराख्नु पर्दैन । 

तेस्रो स्थानमा फिनल्यान्ड, इटली, लक्जम्बर्ग र स्पेन छन् । चौथौमा अष्ट्रिया, डेनमार्क, नेदरल्यान्ड र स्वीडेन छन् । बेलायत पोर्चुगल, आयरल्यान्ड र फ्रान्ससँग पाँचौ स्थानमा छ । अमेरिका स्वीटजरल्यान्ड, नर्वे, न्यूजिल्यान्ड र बेल्जियमसहित विश्वको छैठौं शक्तिशाली राहदानीको सूचीमा छ । 

यस्तै नेपालको राहदानी विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । बेलायतको नागरिकता तथा आवाससम्बन्धी परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्सले आइतवार सार्वजनिक गरेको विश्वभरका राहदानी सम्बन्धी एउटा सूचकांकले यस्तो देखाएको हो । 

सूचिअनुसार नेपाली राहदानी सूचीको सबैभन्दा पुछारमा सातौं स्थानमा छ । ११२ देश तथा क्षेत्र सूचीकृत यो सूचीमा नेपाल १०६ औं स्थानमा छ । उक्त स्थानमा नेपालसँग प्यालेष्टाइन भू(भाग पनि रहेको छ । नेपालको राहदानीलाई विश्वको ३७ देशमा अनअराइभल भिसा छ ।

अर्थात् नेपाली राहदानी बोक्नेहरुले ३७ देशमा मात्रै बिना भिसा यात्रा गर्न सक्छन् । यस मामिलामा नेपाल उत्तर कोरियाभन्दा पनि कमजोर छ । सूचीमा नेपालभन्दा ठिक माथि रहेको उत्तर कोरियाली राहदानीलाई ३९ देशमा त्यस्तो सुविधा छ । 

नेपालभन्दा तल १०७ औंदेखि ११२ स्थानमा क्रमशः सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छ ।  भारत सूचिको ८४ औं स्थानमा छ भने चीन ६६ औं स्थानमा ।

पछिल्लो समय चरम आर्थिक संकटका डुबेको श्रीलंका सूचीको १०३ औं स्थानमा छ । बंगलादेश र पाकिस्तान पनि क्रमशः १०४ र १०९ औं स्थानमा छ । सूचीको पुछारमा अफगानिस्तान छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया