काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले विदेशमा बसेर काम गरिरहेका नेपालीमा आईपीओमा कोटा छुट्याइने संकेत गरेका छन् ।
दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले यस्तो संकेत गरेका हुन् ।
चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै मन्त्री शर्माले यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको बताए ।
‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ । रेमिट गर्नेहरुलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने ।
शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखहरुलाई निर्देशन पनि दिए ।
प्रतिक्रिया