विश्वासको मत प्राप्त गर्न विफल भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिए, नयाँ प्रधानमन्त्री चयन सोमबार

३ बर्ष अगाडि

एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्‌मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट बाहिरिएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो ।

खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गरेका छन् । पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ ।

नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् । सत्तारुढ दलका सदस्य वा सभामुख नरहेको अवस्थामा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने जिम्मा पाएका आयाज सादिकले आइतवार ११ बजेभित्र उम्मेदवारी दर्ता गरिनुपर्ने बताएका छन् । 

खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् ।बिहीवार सर्वोच्च अदालतले ६९ वर्षका खानले अविश्वासको प्रस्तावलाई अवरुद्ध तुल्याउँदै असंवैधानिक ढङ्गले संसद् विघटन गरेको ठहर गरेको थियो ।

खानको सो कदमले कैयौँ विपक्षी दलका सदस्यहरूलाई आक्रोशित तुल्याएको थियो र कतिपयले प्रधानमन्त्रीले राजद्रोह गरेको आरोप लगाएका थिए । मतदान सुरु हुनुभन्दा केही मिनेटअघि प्रधानमन्त्री खानका समर्थक रहेका संसद्को तल्लो सदनका सभामुखले पदबाट राजीनामा दिएका थिए ।

खानको दल पीटीआईका सदस्यहरूले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय षडयन्त्रको सिकार बनाइएको भन्दै संसद् भवन छाडेका थिए । ३४२ सदस्यीय संसद्‌मा विपक्षी दलहरूले अविश्वासको प्रस्तावको पक्षमा १७४ मत जुटाएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया