कति छ केन्द्रीय ब्याङ्कमा अमेरिकी डलरको सञ्चित, कहिलेसम्म धान्छ ?

४ बर्ष अगाडि

काठमाडौं - विदेशी मुद्रा सञ्चिती घट्न थालेसँगै सरकारले बिलासी वस्तुहरूको आयातमा कडाइ गर्न सुरु गरेको विवरणहरू आइरहेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार केन्द्रीय ब्याङ्कसँग हाल ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चित छ । जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अधिकारीहरू बताउँछन् ।

पछिल्लो मौद्रिक नीतिमा कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्न सकिने उल्लेख गरिएको छ । हाल सरकारले आफ्नो ढुकुटीमा रहेको विदेशी मुद्रा सकभर देशबाट नबाहिरियोस् भन्ने नीति अघि सारे जस्तो देखिएको जानकारहरू बताउँछन् ।

तर कतिपयले भने मुद्रा सञ्चिती कायम राख्नका लागि आयातमा कडिकडाउ गर्नुका साथै मुद्रा आर्जन गर्ने विषयमा पनि ध्यान पुर्‍याउन आवश्यक रहेको टिप्पणी गरिरहेका छन् ।

केन्द्रीय ब्याङ्कले भने चालु आर्थिक वर्षको सात महिनाको अवस्था हेर्दा हालको समस्या विदेशी मुद्रा आर्जनको स्रोतमा ठूलो समस्या उत्पन्न भएका कारणभन्दा पनि आर्जित रकम बाहिरिने क्रम बढेका कारण भएको बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनाको तथ्याङ्कका अनुसार रु १३ खर्ब बराबरको आयात भएको केन्द्रीय ब्याङ्कको भनाइ छ । गत आर्थिक वर्षमा कुल आयात रु १५ खर्ब ४० अर्बको बराबरको भएको तथ्याङ्कले देखाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया