काठमाडौं - वैदेशिक रोजगारको श्रम स्वीकृति पूर्णरूपमा अनलाइनमार्फत दिने तयारी पूरा भएको छ । आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति भनिने म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ ।
श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक शेष नारायण पौडेलले जानकारी दिए ।
विभागले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट प्रदान गर्दै आएको छ । श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड घटेको छ । अनलाइन प्रणालीले गर्दा सेवा प्रवाहमा व्यापक सुधार भएको विभागले दाबी गरेको छ ।
श्रम स्वीकृतिका लागि सेवाग्राही तथा म्यानपावरका कर्मचारी विभागका कार्यालयमा जानुपर्ने अवस्था अन्त्य भएको छ । सम्पूर्ण सेवा ‘फेसलेस’ बनाइसकिएको अवस्थामा बिना कारण म्यानपावर कम्पनीका कर्मचारी कार्यालयमा देखिए सम्बन्धित संस्था र व्यक्तिलाई कारबाही हुने विभागले चेतावनी दिएको छ ।
यसैबीच उक्त कार्यालयले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।
वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो ।
तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स ९युएई०, क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने विभागका महानिर्देशक पौडेलले जानकारी दिए ।
प्रतिक्रिया