श्रीलंकाका पूर्व गभर्नरलाई किन लगाइयो विदेश यात्रामा प्रतिबन्ध ?

३ बर्ष अगाडि

एजेन्सी - श्रीलंकाका पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।  मुलुकको आर्थिक संकटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलंकाको एउटा अदालतले हालै राजीनामा दिएका केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको हो । 

कोलम्बोस्थित एक अदालतले गत सोमवार मात्र गभर्नर पदबाट राजीनामा गरेका अजिथ निभार्द चार्बाललाई उनी विरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो ।

राष्ट्रपति गोताबाया राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका चार्बाल श्रीलंकाको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय संकटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले तर्क गरेका छन् ।टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा केन्द्रीय बैंकको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’ का लागि जिम्मेवार भएको कुरा अदालतमा बयान दिएका थिए ।

उनी गत वर्षको सेप्टेम्बरमा १६ औं गभर्नरको रुपमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए । यसैबीच गत हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलंकाका सत्तारुढ दलका सांसद अली साब्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् । 

उनलाई गत सोमवार राष्ट्रपति राजपाक्षले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । तर उनले नियुक्त भएको दुई दिन पनि नवित्दै राष्ट्रपतिलाई राजीनामा पेश गरेका थिए । तर राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन ।  उनले शुक्रवार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताएका हुन् । श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया