काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन नै झन्डै २७ गुणा बढि आवेदन परेको छ ।
संस्थाले आज चैत २५ गतेबाट जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ । संस्थाले १०० अंकित दरका कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ जारी गरेको हो ।
संस्थाले निष्कासन गरेको आईपीओको कुल कित्तामध्ये ३ हजार २८१ कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
सीडीएससीका अनुसार आज साँझ सवा ५ बजेसम्म यो आईपीओमा ५ लाख ७ हजार १९८ आवेदकबाट ५९ लाख ९ हजार ९८० कित्ता सेयर माग भएको छ । यो मागभन्दा २६.७२ गुणाले बढी आवेदन हो । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ ।
जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता सेयर पाउनेछन् । यो आईपीओ न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । आवेदन यही चैत २९ गतेसम्म दिन पाइनेछ ।
आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया