किन निलम्बित भए गभर्नर ?

४ बर्ष अगाडि

काठमाडौं - अनुशासनहीन काम गरी बदनाम गराएको आरोप लगाउँदै सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । 

मन्त्रीपरिषद बैठकले उनलाई अनुशासनहीन काम गरेको, संस्थाको गोपनीयता कायम गर्न नसकेको, सुनियोजित रुपमा सरकारलाई बद्नाम गर्न लागिपरेको जस्ता संगीन आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतले सरकारलाई निरन्तर असहयोग गर्दै आएका र अर्थमन्त्रीविरुद्ध खुल्ला रुपमै लागेका जस्ता आरोप पुष्टि हुँदै गएका कारण अधिकारीलाई निलम्बन गर्ने निर्णय गरिएको दाबी गरेको छ । 

अधिकारीमाथि लागेको आरोपहरुबारे छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ । समितिलाई गभर्नरमाथि लागेका आरोपका बारेमा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याण्डेड दिइएको छ । 

राष्ट्रबैंकले आयोजना गरेको एक कार्यक्रममा  अधिकारी गभर्नरकै रुपमा सहभागी थिए । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए । उक्त कार्यक्रममा देशको अर्थतन्त्रको विषयलाई लिएर गभर्नर र अर्थमन्त्रीको वादविवाद नै परेको थियो । 

कार्यक्रममा अर्थमन्त्री शर्मा निकै आक्रोशित मुद्रामा प्रस्तुत हुँदै गभर्नरमाथि खनिएका थिए । अमेरिकाबाट एक व्यवसायीले ल्याउन खोजेको केही करोडमा अर्थमन्त्रीले खेलेको सहयोगी भूमिकाको विषयमा गभर्नरले गोपनीयता कायम गर्न नसकेको र सुनियोजित रुपमा सरकारविरुद्ध मिडियावाजी गरेको अर्थमन्त्रीले खुल्ला रुपमै आरोप लगाएका थिए । 

यस्तो आरोप लगाएको केही घण्टामै गभर्नर निलम्बनको खबर बाहिर ल्याइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया